१२ दिनमै रास्वपा – कुलमान सहमति टुट्यो
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको एकता सहमति दुई सातामै भाँडिएको छ ।
पद बाँडफाँट र सैद्धान्तिक विषयमा कुरा नमिलेपछि दुई पार्टीबीचको एकताको सहमति भंग भएको हो । केही दिनदेखि नेतृत्व तहमै भएको छलफल टुंगोमा पुग्न नसकेपछि एकता भाँडिएको हो । रास्वपाका एक नेताले दुई पार्टीबीचको सहमति अन्त्य भएको पुष्टि गर्नुभएको हो । यही पुस १४ गते दुई पार्टीबीच एकता गर्ने सहमति भएको थियो । उक्त सहमतिमा घिसिङलाई रास्वपा उपसभापति बनाउने निर्णय भएको थियो ।
उज्यालो नेपालले राखेको उपसभापति र महामन्त्री पाउनुपर्ने, पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, केन्द्रीय सदस्य थप गर्नुपर्नेलगायतका विषयमा सहमति हुन नसकेको हो । उज्यालो नेपालसँगको एकता अन्त्य हुने भएपछि रास्वपाको आकस्मिक सचिवालय बैठक बसिरहेको छ भने उज्यालो नेपालको पनि केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँगको सहमति भंग भएकोबारे रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् । घिसिङले दिनदिनै माग फेर्ने गरेपछि अहिले एकताबद्ध भएर जान नसक्ने अवस्था आएको लामिछानेले सचिवालयको भर्चुअल बैठकमा जानकारी दिएका थिए ।
रास्वपाका दुई सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ-नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए । बालेन्द्र शाह र कुलमान घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नक्खु कारागारमा रहेदेखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।
कुलमानले सरकारको मन्त्री पद छोडेपछि पार्टीमा उपसभापति दिने सहमति भइसकेपछि दिनदिनै नयाँ-नयाँ माग राख्ने गरेको रविले सचिवालय बैठकमा सुनाएका थिए । ‘कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो,’ लामिछानेले सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए, ‘बालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो । प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँ भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबण्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।’
रविलाई पार्टी, बालेनलाई सरकार र कुलमानलाई भौतिक पूर्वाधार लगायतका कामको जिम्मेवारी तोक्ने प्रस्ताव गर्दा पनि कुलमानले नमानेको लामिछानेले ब्रिफिङ गरेका थिए । ‘तीन नेतामा काम बाँडफाँटको कुरा गर्ने क्रममा रविले पार्टी सम्हाल्ने, बालेनले सरकार सम्हाल्ने सहमति भयो । कुलमानको विज्ञताअनुसारको भौतिक पूर्वाधारमा कायापलट गर्ने जिम्मेवारी तोकौं भन्दा नमान्ने । म के र कहाँ हुन्छु भन्ने कुरा गरिरहेपछि सहमति बनेन,’ लामिछानेको ब्रिफिङ उल्लेख गर्दै एक सचिवालय सदस्यले भने ।