जन्मभुमि खबर ,
पोखरा ।
पोखराबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने तीन जना बालकहरूलाई प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ । गत माघ १० गते पोखरा महानगरपालिका वडा नं. २९ घोतघोतेस्थित एक पसल अगाडिबाट चोरी भएको ग ६ प ६६२४ नम्बरको पल्सर मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन् ।
मुसीटुँडा बस्ने सीताराम श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको सूचना दिएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले अनुसन्धान सुरु गरेको थियो । घटनास्थल आसपासका सीसीटीभी फुटेजहरूको गहन अध्ययन गर्दा तीन जना बालकहरूले उक्त मोटरसाइकल चोरी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खोजतलासका क्रममा कास्की प्रहरीले तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीसँग समन्वय गरेको थियो। सोमबार बिहान ४:०० बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी-२ गणेश टोलबाट मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।