जन्मभुमि खबर ,
पोखरा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ठूलो संख्यामा अस्थायी प्रहरी (निर्वाचन प्रहरी) भर्ना गर्ने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
यसपटक विगतमा प्रयोग गरिँदै आएको ‘म्यादी प्रहरी’ शब्दावलीको सट्टा ‘निर्वाचन प्रहरी’ नामाकरण गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले भोलि (शुक्रबार) अर्थात् २०८२ पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनमा समेत दरखास्त फारम बुझाउन सकिने व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कहाँ दिने आवेदन ?
इच्छुक उम्मेदवारहरूले काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्ला प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) र उपत्यका बाहिरका हकमा सबै जिल्ला प्रहरी कार्यालयहरूमा स्वयं उपस्थित भई दरखास्त फारम बुझाउन सक्नेछन् ।
को बन्न पाउँछन् निर्वाचन प्रहरी ?
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा साधारण लेखपढ गर्न जान्ने भए पुग्नेछ । उम्मेदवार कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको तथा शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्ने मापदण्ड तोकिएको छ ।
कसलाई छ प्राथमिकता ?
भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षकहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यस्तै, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा खटिएर सन्तोषजनक काम गरेकाहरूले पनि प्राथमिकता पाउनेछन् ।
यसका साथै, २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म सुरक्षा निकायका विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका (प्रवेश पत्र पेस गर्ने) उम्मेदवारहरूलाई पनि छनोटमा अग्रता दिइने सूचनामा उल्लेख छ ।
छनोट भएका निर्वाचन प्रहरीको कार्यावधि नियुक्ति भएको मितिले ४० दिनको हुनेछ । उनीहरूले नेपाल प्रहरीको जवान सरहको आधारभूत तलब, राशन, पोसाक र अन्य भत्ता सुविधा प्राप्त गर्नेछन् ।
दरखास्त दिने म्याद सकिएपछि माघ ४ गते सम्पर्क मिति तोकिएको छ । माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन हुनेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ । छनोटमा परेका उम्मेदवारहरूलाई माघ १५ गतेदेखि २४ गतेसम्म १० दिने तालिम प्रदान गरी निर्वाचन सुरक्षामा खटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
