जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिन बन्द

जन्मभुमि खबर ,

पोखरा ।

लमजुङ र तनहुँ जोड्ने मुख्य बाटो डुम्रे–बेँसीसहर सडक सोमबार (माघ १२)देखि तीन दिनसम्मका निम्ति बन्द गरिएको छ । बाटो कालोपत्र गर्न सोमबार बिहान ११ देखि माघ १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे–बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।”

नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारीसाधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ ।

यो सडक हुँदै काठमाडौं, कास्की, चितवनलगायत जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । बेँसीसहर र हिमाली जिल्ला मनाङका स्थानीय समेत यही सडक हुँदै आवतजावत गर्ने गर्छन् ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले भने, “यस सडकमा कालोपत्रे गर्नको लागि काम भइरहेको छ । यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ ।” रासस