जन्मभुमि खबर ,
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले नेपाल नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
यस्तै तत्कालीन निर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ नगद माग गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्दै ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। त्यसमध्ये अधिकारी पनि थिए।
यसअघि विशेष अदालतले प्राधिकरणका महानिर्देशक अधिकारीलाई भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भने पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि उनी हाल डिल्लीबजार कारागारमा छन्। भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
अदालतले धरौटी माग गरे पनि अधिकारी थुनामै जाने छन् । यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको थियो । सोही आदेशको आधारमा उनी थुनामै हुनेछन् ।