जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा मदिरा सेवनपछि उत्पन्न विवादमा ढुंगा प्रहार गरी साथीको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ भद्रकाली नजिकै बुधबार राति ६० वर्षीय रमेश सुनारको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले पाल्पाको रामपुर घर भई हाल पोखरामा मजदुरी गर्ने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार दिनभर मजदुरी गरेर साँझ तीनै जनाले सँगै मदिरा सेवन गरेका थिए । मदिराको नसामा विवाद भएपछि हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकैको खाली जग्गामा दुई जना मिलेर सुनारमाथि ढुंगा प्रहार गरेका थिए । बिहीबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले पक्राउ परेका थापामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव पोस्टमार्टमपछि श्रीमती र छोराले बुझेको प्रहरीले जनाएको छ ।