जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौंको सिनामंगलमा एक जना प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन् ।
आइतबार अपराह्न काठमाडौंको सिनामंगलस्थित डेरा कोठामा झगडा हुँदा चार महिनाको छोराको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
डोटी घर भएका २९ वर्षको असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको आरोप छ ।
कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
‘छोराको उपचार गराउने विषयमा झगडा भएको रहेछ । त्यसैबीच श्रीमतीमाथि पनि कुटपिट गरे र छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्,’ एसपी भट्टराईले भने ।
श्रीमान-श्रीमती दुबै जना प्रहरी हुन् । विष्णा प्रहरी जवान हुन्। उनीहरू दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए ।
अपराह्नमा उक्त घटना भएपछि श्रीमान पुष्कर फरार भएका थिए। उनलाई प्रहरीले साँझ ६ बजेतिर नागढुंगा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो ।
घाइते विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।