जन्मभुमि खबर ,
पोखरा ।
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्बर केसीले बताए ।
गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताए । “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुङ्गिइसकेको छ”, उनले भने, “कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ ।” शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए ।