जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की ट्राफिक प्रहरी कार्यालयबाटै मोटरसाइकल चोर्ने पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट हराएको एक मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई मोटरसाइकल चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

गत भदौ २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीका क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी चलाइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धान तथा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको एक्स प्लस २०० मोडलको मोटरसाइकल चोरी गरी चलाएको प्रहरीले जनाएको छ । चोरी भएको मोटरसाइकलको इन्जिन नम्बर एमसि २० एइकेजीके ००३९३ र चेसिस नम्बर एमबिएलएलडियु (एल)केसिपी ००२७४ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।