जन्मभुमि खबर ,
पोखरा ।
गत भदौ २४ को आन्दोलनको क्रममा पोखरास्थित वडा प्रहरी कार्यालय बैदामबाट क्यामेरा र मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् ।
बैदाम प्रहरीको टोलीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो । उनी कारागार कार्यालय कास्कीबाट भागेर चोरी गर्न बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनले क्यानोन क्यामेरा र एनएस पल्सर मोटरसाइकल चोरी गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा थिए ।
कोही नहुँदा उनले क्यामेरा र मोटरसाइकल चोरी गरेको कार्यालय प्रमुख डीएसपी नमराज भट्टराईले बताए । ‘आधा घण्टा, एक घण्टा कार्यालयमा कोही नभएको अवस्था थियो । त्यहीबेला चोरी भएको हो,’ उनले भने ।
जलारीले चोरी गरेको बाइक नम्बर प्लेट नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।