जन्मभुमि खबर ,
पोखरा ।
यस वर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो ।
यहाँ गरिएको प्रारम्भिक आङ्कलनअनुसार गत वर्षको भन्दा यस वर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले उल्लेख गरे । गत वर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । उनका अनुसार गत वर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो । गत वर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ ।
आवश्यक प्रक्रिया पुगे तिब्बत्बाट च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्याङ्ग्राका पाठापाठी भित्रिएको बताए । उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्याङ्ग्रा नभित्रिएको जानकारी दिए ।
“यहाँ भेडाच्याङ्ग्रा आयात गर्नमा कुनै समस्या छैन, व्यापारीले चीनबाट पशु क्वारेनटाइन रिपोर्ट लिएर आउनु पर्यो,” निमित्त प्रमुख राईले भने, “यहाँ तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौँ ।” निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेनटाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले वैधता प्रदान गर्ने बताए ।