जन्मभुमि खबर ,
पोखरा ।
नेपाल प्रहरीले पोखरामा एउटा नयाँ पेट्रोल पम्पको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको पहलमा निर्माण गरिएको यो पेट्रोल पम्प मंगलबारदेखि सर्वसाधारणका लागि खोलिएको हो ।
अघिल्लो वर्षको असार २० गते पेट्रोल पम्प निर्माणका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार, निर्माण कम्पनी एनसी/अल्फा-हेक्स/तेजस्वी जेभीले एक वर्षभित्र पम्प तयार गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाका अनुसार, यो पम्प निर्माणका लागि रु. ९ करोड ९६ लाखको लागतमा सम्झौता भएको थियो ।
प्रारम्भमा, यो पम्पको निर्माण कार्यको विरोध भएको थियो किनभने यो क्षेत्रमा उच्च सरकारी कार्यालय र मन्त्रालयहरू छन् । नागरिक अगुवाहरूले यसको विरोध गर्दै उच्च अदालतमा रिट समेत दायर गरेका थिए ।
तर, दुवै पक्षसँगको छलफलपछि, गत पुसमा तत्कालीन मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको थियो । यो पेट्रोल पम्पबाट २४ घण्टा नै डिजेल र पेट्रोल बिक्री–वितरण हुने कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश सापकोटाले बताए ।