जन्मभुमि खबर ,
पोखरा ।
युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ ।
नेपालमा म्याग्दी घर भई हाल पोखरा अर्चलबोट बस्ने ४२ वर्षीय खिमबहादुर पुनको सडक दुर्घटनामा आज स्थानीय समय बिहान साढे ५ बजे मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा ३ वर्षअघि माल्टा आएका उनका श्रीमती, २ छोरी र १ छोरा छन् ।
फुड डेलिभरीको काम गर्ने खिमलाई कामको सिलसिलामा स्कुटीमा रहेको बेला कारले ठक्कर दिएको थियो । कार १७ वर्षीय माल्टिज युवकले चलाएका थिए। दुर्घटनाबाट उनको घटनास्थलमै मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए ।
‘ठक्कर दिएर भाग्ने माल्टिज युवकलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी प्राप्त भएको छ’,अध्यक्ष खनालले भने, ‘हामी मृतकको परिवारको सम्पर्कमा पुगिसकेका छौँ तर शवलाई हेर्न प्रशासनले हालसम्म अनुमति दिएको छैन ।’
अहिले खिमको शव माल्टाको मातर देई अस्पतालको शवगृहमा राखिएको छ। आवश्यक कानुनी प्रकृया पूरा गरी नेपाल पठाइने बताइएको छ ।
शव नेपाल पठाउन एनआरएनए माल्टाले गो गेट फन्डमार्फत आर्थिक सहयोग संकलन अभियान सुरु समेत गरेको छ ।