जन्मभुमि खबर ,
पोखरा ।
पोखरा ६ गौरीघाटस्थित चौतारो जीर्णोद्वार गरिएको छ । यससँगै हरियाली प्रवर्द्वनका वातावरणमैत्री पार्क पनि निर्माण गरिएको छ ।
लामो इतिहास बोकेको उक्त चौतारो जथाभावी फोहोर फोलेर डम्पिङ साइडको रुपमा परिणत भएपछि डिभिजन वन कार्यालय कास्कीले चौतारो जीर्णोद्वारका लागि चासो देखाएको हो ।
डिभिजन वन कार्यालयको ४ लाख रुपैयाँ आर्थिक सहयोग, उपभोक्ताबाट १ लाख २ हजार ९ सय ५१ रुपैयाँ बराबरको जनसहभागिता र पोखरा महानगरपालिका ६ नम्वर वडा कार्यालयको समन्वयमा चौतारो जीर्णोद्वार र वातावरणमैत्री पार्क निर्माण गरि बुधबार स्थानिय निकायलाई नै हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले चौतारो जीर्णोद्वार र वातावरणमैत्री पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्वन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक स्रोत र साधनको बढि प्रयोग गरि थोरै लागतमा स्तरीय संरचना निर्माण गरिएकोमा उनले उपभोक्ता समितिलाई धन्यवाद दिए । वन अधिकृत काफ्लेले उक्त चौतारो अपांगमैत्री भएकोमा खुसी व्यक्त गरे ।
उनले चौतारो संरक्षण र पार्क निर्माण सुरुवाती चरणमा रहेको बताउँदै अब यसको दिगो संरक्षण र संवर्द्वनका लागि स्थानिय पालिका, डुङ्गा व्यवसायी समिति तथा उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहने बताए ।
अहिले लगानी गरेर निर्माण गरिएका संरचनाहरु पछि बेवारिसे हुन नहुने उनको भनाई छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले टुरिज्म एरियामा रहेको चौतारो र आसपासका क्षेत्र डम्पिङ साइडको रुपमा परिणत भएको हुनाले चौतारोलाई मूर्त रुप दिने र प्राकृतिक वातावरण निर्माण गर्ने कार्य गरिएको बताए ।
जसका लागि स्थानिय निकाय, उपभोक्ता समिति तथा डुङ्गा व्यवसायीको योगदान अतुलनीय रहेको उनको भनाई छ ।
नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरि अधिकारीले चौतारीको जीर्णोद्वार र हरियाली प्रवर्द्वन उत्कृष्ट कार्य भएको बताउँदै उक्त संरचना नामको मात्र नभएर बस्न मिल्ने, योग गर्न मिल्ने, पर्यटकलाई लोभ्याउने नमुना कार्य भएको बताए ।
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव जिसीले गरेका थिए ।