जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अमेरिकामा एउटै घरमा चार नेपाली मृत फेला

जन्मभुमि खबर ,

पोखरा ।

अमेरिकाको भर्जिनिया राज्यमा नेपाली परिवारका ४ सदस्य गोली लागेको अवस्थामा मृत फेला परेका छन् । घटना बिहीबार राति भर्जिनियाको मनासस पार्कस्थित एक अपार्टमेन्टमा घटेको हो ।

प्रहरीका अनुसार, दुई बालबालिकासहित सबैको मृत्यु गोली लागेर भएको छ । घरधनीले लामो समयसम्म भाडामा बस्ने परिवारको कुनै खबर नपाएपछि उनीहरूको अवस्था बुझिदिन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरी घटनास्थल पुग्दा अपार्टमेन्टभित्र चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।

प्रहरीले ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान, एक ८ वर्षीया बालिका र एक २ वर्षीय बालकको को मृत्यु पुष्टि गरेको छ । मनासस पार्क प्रहरी विभागले प्रारम्भिक अनुसन्धानले घटना हत्या-आत्महत्या जस्तो देखिएको बताएको छ । घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ ।

यद्यपि, परिवारका कुन सदस्यले गोली चलाएको हो भन्नेबारे प्रहरीले तत्काल केही खुलाएको छैन । प्रहरीलाई जुन ५ तारिख, बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकस्थित अपार्टमेन्टमा बोलाइएको थियो । चारै जनाको शवलाई पोष्टमार्टम तथा थप अनुसन्धानका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ ।