जन्मभुमि खबर ,
पोखरा ।
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।
घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो ।
दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।
घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दिए पनि अहिलेसम्म दर्ता भएको छैन । प्रहरीले जाहेरी दर्ता गर्न नमान्दा पीडितहरूमा शंका उब्जिएको छ ।
‘घटनालगत्तै हामी जाहेरी दिनका लागि प्रहरी कार्यालय पुगेका थियौं । सुरुमा डीएसपी, इन्स्पेक्टर कार्यालयमा नरहेको भनेर जाहेरी नै लिइएन । पछि जाहेरी छोडेर आयौं तर अझैसम्म दर्ता भएको छैन,’ घाइते किशोरजंग बस्नेतले भने, ‘प्रहरीले उनीहरूको हतियार खोस्यो तर मान्छेलाई नसमाई छोडिदियो ।’
जाहेरी नलिँदा ज्यानै लिने मनसायले खुकुरी प्रहार गर्नेहरू बेसीसहरबाट भाग्ने र त्यसपछि फरार भए भनेर नसमाउने नियत प्रहरीको भएको पीडितको आशंका छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, यो घटनामा जाहेरी नलिन भन्दै राजनीतिक तहबाट दबाब आउन थालेको छ ।
हेर्नुहोस भिडियो