जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका पूर्वमन्त्री तथा पूर्वगुण्डा भनिने राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतमा पेश गरिएको पुनरावलोकनको निवेदन फिर्ता लिने प्रक्रिया सुरु गरेका छन् ।
आज न्यायाधीश त्रय कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएपछि मनाङे आफैं अदालतमा उपस्थित भए ।
उनले पुनरावलोकन निवेदन फिर्ता लिएर बाहिर बसेर मुद्दा लड्न पाउने सुविधा माग गर्दै अगाडि बढ्ने तयारी गरेका छन् ।
यसअघि सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको थियो। यो फैसला उच्च अदालत पाटनको निर्णय सदर गर्दै गरिएको थियो ।
तर, मनाङेले मुलुकी ऐनअनुसार २० प्रतिशत कैद छुट माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए, जसमा फागुन २३ गते १ वर्ष कैद छुट दिने आदेश दिइएको छ ।
मनाङेले २०६१ सालमा ठेक्कापट्टा र असुलीसम्बन्धी विवादका कारण चक्रे मिलनमाथि आक्रमण गरेको अभियोग लागेको थियो। तरबार प्रहारबाट चक्रेको हातसमेत छिनेको घटना चर्चित रह्यो।
सुरुमा जिल्ला अदालतले सामान्य कुटपिट ठहर गरी २ वर्ष कैद सुनाए पनि, उच्च अदालतले सो निर्णय उल्ट्याउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई सर्वोच्चले सदर गरेको हो ।