जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बिमा रकम पाउने लोभमा आफ्नै पसलमा आगो लगाउने सञ्चालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन १६ गते साँझ ७:०५ बजे शर्मा आईटी हबमा आगलागी भएको सूचना पाएपछि प्रहरी र दमकल टोली खटिएको थियो । आगो करिब ७:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारले १ करोड बराबरको बिमा गराएको पाइएको छ । घटनापछि उनले शिखर इन्स्योरेन्स कम्पनीमा क्षतिपूर्ति दाबी गरेका थिए । अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू विदामा रहेका र आगलागीको कारणबारे संदेहजनक विवरण प्रस्तुत गरिएको पाइएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति, संकलित प्रमाणहरू तथा अन्य तथ्यहरूको आधारमा बीमा रकम दाबी गर्न नियोजित रूपमा आगलागी गराइएको आशङ्कामा उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिमाथि ‘आपराधिक प्रवेश तथा आपराधिक उपद्रव’ सम्बन्धी कसूरमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।