जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोटिहोम गर्न दिन महानगरपालिका सहमत , तर, स्थान हेरफेर हुने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर, स्थान हेरफेर गर्ने सहमति भएको छ ।

महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानवसेवा फाउन्डेसनका तर्फबाट पाँच सदस्यीय टोलीसहित केही व्यक्तिहरूबीच छलफल भएको थियो ।

मंगलबार बस्ने पोखरा महानगरपालिकाको बैठकले यस विषयमा टुंगो लगाउने प्रवक्ता मोती तिमिल्सेनाले जानकारी दिए । सोमबार पोखरा महननगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा आयोजक फाउण्डेसनका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीसहितको टोलीसँग वार्ताबाटै समाधान खोज्ने विषयमा सहमति भएको उनले बताए ।

बैठकले कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय गरेको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए ।

स्थान विशेषमा केही विवाद देखिएकोले मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ । कार्यपालिका बैठक बसेर पाँच सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय पनि भएको छ । समितिमा आयोजकका तर्फबाट दुईजना, जिल्ला प्रशासनबाट एक र महानगरबाट दुईजना सदस्य रहनेछन् ।

यही समितिले तोकेको स्थानमा कोटिहोम हुनेछ । स्थानको टुंगो चार/पाँच दिनमा लाग्नेछ ।