जन्मभुमि खबर ,
पोखरा ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरी राजीनामा दिएका हुन् । उनले राजीनामापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।
गत वर्ष १० फागुनमा उपकुलपति नियुक्त भएकाले उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए पनि राजीनामा स्वीकृत भने भइनसकेको जनाइको छ । बराललाई तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए । राजीनामा बुझाएसँगै बराल पोखरा घर फर्किएको जनाइएको छ ।
प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आएसँगै उपकुलपति बरालले सरकारबाट असहयोग भएकाे बताउने गरेका थिए। उनी लामाे समयदेखि विभिन्न राेगबाट ग्रसितसमेत थिए।
उपप्राध्यापकका रूपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।
केही दिनअघि बरालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने तयारी गरेको बताएका थिए । माओवादीनिकट प्राध्याकपहरूको संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठनको कार्यक्रममा शनिबार प्रचण्डले यो विषय सार्वजनिक गरेका थिए । प्रचण्डले आफूले राजीनामा नदिन भनेको तर बरालले भने अब नस्कने बताएकाे समेत उल्लेख गरेका थिए ।