जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पावर देखाएको भन्दै मध्यरात सडकमा प्रहरीले बुटै बुटले युवा कुट्ने असइ निलम्बित ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

सामाजिक सञ्जालहरूमा भाइरल बनिरहेको मध्यरातमा एकजना प्रहरीले एक युवकलाई लात्तीले हानेको भिडिओ चितवनको भएको पुष्टि भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले ती युवकलाई कुटेको पुष्टि भएको हो ।

कुटपिट गर्ने असई बुद्धिबहादुर निलम्बनमा परेका छन ।

चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोका अनुसार उक्त घटना पुस १५ गते रातिको हो । भरतपुरको वडा नम्बर ११ को गणेशस्थान अस्थायी प्रहरी पोष्टका प्रसनि ड्यूटीमा रहेका थिए । राति करिब सवा १० बजेतिर एक स्कुटरसहित ४ वटा मोटरसाइकलमा युवाहरू हुइँकिँदै आए ।

रातको समयमा सवारी चालक अनुमति पत्र र ब्लुबुक जाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक किनारबाट ‘म फोन गर्छु, पर्खिनुस्’ भन्ने आवाज सुनिन्छ ।

सो लगत्तै डिउटीमा खटिएका प्रहरीले झम्टिएर उनीमाथि लात्ता प्रहार गरेको भिडियोमा देख्न सकिन्छ। प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन्। तर प्रहरी पछि लाग्दै लात्तीले हानेर ती व्यक्तिलाई बिजुलीको पोल छेउमा लडाउँछन्।

ए फोन गर्छस्? कस्लाई फोन गर्छस? पावर लगाउँछस्?’ भन्दै ती व्यक्तिलाई भुइँमा लडाएर कम्मरमुनीको भागमा लात्तै लात्ताले हानेको भिडियोमा प्रष्ट देखिन्छ ।

अहिले चितवन प्रहरीले बुलेट मोटरसाइकलको अनावश्यक आवाज नियन्त्रण अभियान पनि चलाइरहेको छ । सो क्रममा ध्वनि प्रदूषण गराउने मोटरसाइकल पनि युवाहरूले चढेर आएको डीएसपी महतोको दाबी छ ।

५/७ जनामध्ये सबैले मादक पदार्थ सेवन गरेर आएकाले उनीहरू भागेको प्रहरीको भनाइ छ । ती युवाले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो तहकालाई फोन गर्न लागेपछि ड्यूटीमा रहेका प्रसनि घलानले लात्तीले युवकलाई कुटेकाे देखिएको छ ।

डीएसपी महतोका अनुसार सो रात चारवटै मोटरसाइकललाई ट्राफिक जरिवानापछि भोलिपल्ट दिउँसो छोडिएको थियो ।

कुटाइको विषय भने भिडिओ सार्वजनिक भएपछि थाहा भएको उनले बताए । उक्त घटनामा प्रहरीले युवालाई कुट्नु गलत भएको चितवन प्रहरीले स्वीकार गरेको छ ।

डीएसपी महतोका अनुसार घटनाकाे छानविन गर्न ५ सदस्यीय छानबिन समिति बनाइएको छ । अध्ययन प्रतिवेदनको आधारमा कुट्ने प्रहरीलाई कारबाही हुने उनले बताए । समितिको संयोजकमा महतो छन् ।