जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका नेता पुर्पक्षका लागि कारागार चलान

जन्मभुमि खबर ,

पोखरा ।

नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चापाकोट माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका उनले १७ बर्सिया नाबालिगलाई धम्क्याउँदै रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनी पक्राउ परेका थिए ।

मङ्गलवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको इजलासले  काठमाडौँको शंखरापुर नगरपालिका–१ का लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दियो ।

उनी विरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि पक्राउ परे। उनी पक्राउ परे लगत्तै एमालेले उनलाई निलम्बन गरेको थियो।

पीडित किशोरीको परिवारले निजले धम्क्याउँदै जवर्जस्ती करणी गरेको दाबी गर्दै जाहेरी दिएका थिए । प्रतिवादी लामाले भने विद्यालयको कार्यक्रमकोक्रममा दुबैबीच चिनजान भएर मोबाइल नम्बर साटासाट भएपछि नजिक भएको र दुवै जना प्रेम सम्बन्धमा रहेको, सहमतिमै करणी भएको र उमेर पुगेपछि विवाह गर्ने सहमति भए पनि किशोरीको परिवारले सम्बन्ध थाहा पाएपछि सम्पर्कहीन बनाएको दाबी गरेका थिए ।

पीडित किशोरीले भने लामासँग फेसबुकबाट कुराकानी सुरु भएको र उनले माया गर्छु भन्दै फकाएर कागेश्वरीमा रहेको मुनलाइट कागेश्वरी भ्यालीभ्यू रिसोर्टमा लगेर जवर्जस्ती करणी गरेको बयान दिएकी छिन् ।

श्रीमतीलाई छाडेर विवाह गर्छु भन्दै फकाएर १० महिनादेखि पटक पटक करणी गर्ने गरेको पीडितको बयानका उल्लेख छ ।