जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखामा आगलागी : तीन घर जलेर नष्ट

जन्मभुमि खबर ,
पोखरा ।

गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

खाना पकाउँदै गर्दा चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए ।

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।

त्यस्तै, एउटा घरको भुइँतल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त भएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो ।