जन्मभुमि खबर ,
पोखरा ।
सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
उनले धरौटीको सबै प्रक्रिया सकेर अदालतबाट बाहिरिँदा रातको सवा ८ बजिसकेको थियो। उनी गाडीबाट बाहिरिने क्रममा समर्थकले स्वागत गरेका थिए। रविले गाडीको झ्यालबाटै सबैलाई धन्यवाद र अभिवादन भनेका थिए ।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो। त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन् ।
बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
धरौटी बुझाएर निस्कने क्रममा उनले भनेका छन्, ‘मैले भन्नपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ’
साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् ।
‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भनेका छन् ।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. १ करोड नगद धरौट, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू ।’
रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो। आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गएको बुधबार अदालतमा हाजिर भएका थिए। त्यसदिन बयान लिएर बिहीबारदेखि थुनछेक बहस सुरु गरिएको थियो ।
यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्। रुपन्देहीको समेत जोड्दा २ करोड २५ लाख रुपैयाँ पुगेको छ।
चितवन र पर्सामा पनि उनका विरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दायर हुँदै छ ।