जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज सहिद दिवस , देशभर सार्वजनिक विदा

जन्मभुमि खबर ,

पोखरा ।

आज माघ १६ गते सहिद दिवस ,मुलुक र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज देशभर विविध कार्यक्रम गरिँदैछ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा आज विशेष रुपमा स्मरण गरिन्छ । यस्तै प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको स्मरण पनि गरिन्छ ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह पनि मनाउने गरिएको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

२०१२ सालदेखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

सहिद दिवसको अवसरमा आज देशभर सार्वजनिक विदा दिइएको छ ।