जन्मभुमि खबर ,
पोखरा ।
भक्तपुरको बालकोटमा सोमबार मृत भेटिएका बाबुछोराको हत्या आफूले गरेको भन्दै जेठा छोराले प्रहरीसामू आत्मसमर्पण गरेका छन् । उनले काठमाडौँको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको प्रहरीले जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय कुलप्रसाद आचार्य आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।
दिक्तेलबाट २ छोरा भाडामा बसेको कोठामा आएका कुलप्रसाद र कान्छो छोराको हत्या गरेको अवस्थामा फेला परेका थिए भने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहिन थिए ।
मिलनले नै बाबु र भाईको हत्या गरेर फरार भएको निष्कर्शसहित प्रहरीले खोजी तिव्र पारेपछि मिलन मंगलबार बिहान महाराजगञ्ज प्रहरी वृत्त पुगेर आत्मसमर्पण गरेको महाराजगन्ज प्रहरीले जनाएको छ ।
मिलनलाई सोधपुछपछि जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाउने तयारी भएको वृत्तका एक अधिकृतले बताए ।
महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।
‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।
बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी चलाएनन् । इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे ।
त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो ।
‘हाम्रो टोलीले सोधपुछ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइदिन्छौ’, एसएसपी भट्टराईले भने ।