जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्करपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा परेको थियो ।
घाइते मध्ये ४ जनाको सिम्रिक एयरमार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए । स्करपियो दुर्घटना हुँदा गम्भीर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्करपियोमा ६ जना सवार रहेका थिए ।
मृत्यु हुनेमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं १ टुकुचेकी ७० वर्षीया भीमकुमारी थकाली रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनलाई चिकित्सकले मृत घोषणा गर्न बाँकी रहेको छ ।
घाइतेहरूमध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्रीको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । चालक गाडीबाट झरेपछि गाडी पछाडि सरेर दुर्घटना भएको बताइएको छ ।
सोही गाडीका चालक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ डाँडाकोटका ४३ वर्षीय गोबिन्द श्रेष्ठ र बाग्लुङ गलकोट नगरपालिका वडा नं १ झाँक्रीस्थानकी ४० वर्षीया अनिता खत्री सकुशल छन् ।
सम्बन्धित समाचार :