जन्मभुमि खबर ,
पोखरा ।
बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पंछी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ । संकटापन्न अवस्थामा परेका गिद्धलगायतका पंक्षीहरूको संरक्षणमा निरन्तर जुटिरहेको समाज पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा पर्यटनको विकासमा पनि उत्तिकै सक्रिय छ ।
चरा संरक्षण अभियान अन्तर्गत नेपाल चरा उत्सव (वर्ड फेयर) सञ्चालन गरिहेको समाजले गत माघ २६ देखि २८ गतेसम्म नवलपुरको कावासोती नगरपालिका वडा नं १३ मा दोस्रो नेपाल चरा उत्सव सम्पन्न गरिसकेको छ ।
चरा उत्सवकै अवसरमा नयाँ चरा अवलोकन पदमार्गको प्याकेज निर्माण गरेको बताउँदै समाजका अध्यक्ष मनशान्त घिमिरेले भन्नुभयो, “वर्ड वाचिङ ट्रेल निर्माणको यो पहल वर्ड इको-टुरिजमलाई प्रवर्द्धन गर्न र नवलपुर क्षेत्रमा वातावरणीय चेतना बढाउन कोसेढुङ्गाका रूपमा स्थापित हुने विश्वास लिएका छौँ ।”
नवलपुरको रमणीय क्षेत्रमा नयाँ चरा अवलोकन पदमार्ग प्याकेज तयार गरिनुले दिगो पर्यटनका लागि महत्वपूर्ण भएको उनको भनाइ छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै आर्थिकरुपमा पनि फाइदा लिने गरी पर्यावरणीय पर्यटनमा जोड दिनुपर्ने बताउछन ।
नवलपुरमा चरा अवलोकन पदमार्ग
नारायणी नदीमा पैदलयात्रासहित डुङ्गा र जीपको सहायतामा पुगिने तीन ओटा पदमार्गमध्ये पहिलो पदमार्गले पिठौली–घाटदेखि नमुना सामुदायिक बनको बीच भाग समेटेको छ । त्यस्तै दोस्रो पदमार्गले जमुनाघाटदेखि अमल्टारी घाटसम्मको दूरी समेटेको छ भने तेस्रोले रत्नापुरादेखि भुताहा पोस्टसम्मको दूरी समेटेको छ । यी पदमार्गमा १४ भन्दा धेरै थरीका हाँस र १० प्रजातिका जलपंछीहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
त्यस्तै देवचुली पदमार्गका लागि कावासोतीबाट जिप यात्रामार्फत करिब डेढ घण्टामा पोखरी र त्यहाँबाट तीन घण्टा पैदल गरी यात्रा गर्न सकिन्छ । देवचुलीको चुचुरो पुगेर फर्किएपछि थोरै तल रहेको घरवास(होमस्टे)मा रात बिताउन पनि मिल्छ । यस पदमार्गका मुख्य आकर्षणमा नेपालमा मात्रै पाइने काँडेभ्याकुर, विभिन्न प्रजातिका चाँचर, कालिज, घेघरी घाँसेफिस्टो, नहिकुटी गौँथलीआदी रहेको समाजका अध्यक्ष घिमिरेको भनाइ छ ।
यहाँको नमुना सामुदायिक पदमार्ग पनि छ । विश्वकै पहिलो सामुदायिक व्यवस्थापनमा सञ्चालित जटायु रेस्टुराँबाट सुरु हुने यात्रा कृष्णसार सामुदायिक वनको प्रवेशद्वारमा पुग्छ । यस पदमार्गका लागि कम्तीमा पाँच घण्टा छुट्याउनुपर्छ ।
यहाँका मुख्य आकर्षणमा आठ प्रजातिका गिद्ध (डङ्गर, सुन, लामोठुंडे, सानो–खैरो, सेतो, खैरो, हिमाली, राज गिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठूलो कस्दरी, खोया हाँस, माछाकुल, झिली जस्ता प्रजातिका चरा छन् ।
चरा पर्यटनको सम्भाव्यतालाई उजागर गर्नका लागि यस चरा अवलोकन पदमार्गको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोख्रेलले बताए ।
“चरा अवलोकन पदमार्ग नेपालको पर्यटनको विकासमा लागि महत्वपूर्ण आयाम हो”, उनले भने, “प्रकृति संरक्षणका साथै चरा पर्यटनको विकासका लागि यो प्रयास महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।”
चरा पर्यटनका दृष्टिले पर्यटन राजधानी पोखरासहित समग्र गण्डकी प्रदेश नै उपयुक्त गन्तव्य बन्न सक्ने देखिएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको अवस्थामा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यलाई यसैमा जोड्नु आवश्यक रहेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङ बताउछन ।
चरा पर्यटनको सम्भाव्यता समेतलाई दृष्टिगत गरी पोखरा पंछी समाजले चरा अवलोकन पदमार्गको अवधारणा अघि सार्नुले चरा पर्यटनसँगै समग्र पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
हिमाली तथा पहाडी दृश्यावलोकनसँगै साहसिक पर्यटनमा पनि चासो र चर्चा कमाएको गण्डकी प्रदेशमा चरा पर्यटनमा पनि धेरै सम्भावना बोकेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले बताए ।
गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ हुँदै बग्ने कालीगण्डकीदेखि त्रिवेणी, गजेन्द्रमोक्षधामसम्मका क्षेत्र विभिन्न जलसम्पदाकै कारण चराको रोजाइमा पर्ने गर्दछन् ।
पछिल्ला वर्ष पोखरासहित समग्र गण्डकी प्रदेशमा चरा हेर्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । नेपालमा आउने आठ प्रतिशत विदेशी पर्यटकमध्ये चरा हेर्नकै लागि आउने गरेका छन् । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट गण्डकी प्रदेशका पोखरादेखि नवलपुरसम्मका क्षेत्रमा हिउँदे चरा आउने गरेको अनुसन्धानले देखाएको छ ।
नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपंक्षी गणना हुँदै आएको छ । प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गर्ने प्रचलन छ ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरु गरिएको थियो । पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पंछी संरक्षण सङ्घ पोखरा र पोखरा पंछी समाजका संलग्नतामा पोखरामा जलचरा गणना गरिदै आइएको छ ।
गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै पाँच सय प्रजातिका चरा पाइन्छन् । जसमा एक सय स्तनधारी प्रजातिका छन् । नेपालमा पाइने आठ सय ८७ प्रजातिका चरामध्ये गण्डकीमा मात्रै कम्तीमा छ सय प्रजाति पाइने भएकाले समग्र गण्डकी प्रदेशलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ ।
पछिल्लो समय मर्दी हिमाल पदयात्रा क्षेत्रका साथै कास्कीकै धम्पुसलगायत स्थानमा विगतमा देखिने जस्तो डाँफे, मुनाल देख्न छाडिनु चुनौतीका रुपमा देखिएको छ । चराको वासस्थानको सङ्कटसँगै बढ्दो प्रदुषणलगायत चुनौतिका रुपमा देखिएको छ । पछिल्ला समया चराहरू दिनानुदिन सङ्कटको अवस्थामा रहेको भन्दै कवि वासुदेव पाण्डेयले आफ्नो प्रकृतिपरक कविता संग्रह दुलहीको ‘बाँच्छ्यौ चरी के गरी’ मा भनेका छन छ…
‘उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकाशमा
पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।
छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी
क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी के गरी ।।’