जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धुवाँ र तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध

जन्मभुमि खबर ,
पोखरा ।

धुवाँ र तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरूद्ध भएको छ ।

बुधबार बिहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उडे पनि त्यसपछि उडान अवरूद्ध भएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् ।

‘पोखराबाट तीन वटा फ्लाइट आज बिहान काठमाडौं उड्यो, त्यसपछि अरू उडान हुन सकेको छैन,’ उनले भनिन्, ‘धुँवा र तुवाँलोले आकाश ढाकेकाले उडान प्रभावित भएको छ।’

पोखराबाट काठमाडौं बिहान तीन वटा जहाज गए पनि काठमाडौंबाट पोखरा एउटा पनि जहाज आउन नसकेको उनले बताइन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजले उडान तथा अवतरण गर्न कम्तिमा ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्छ।

धुँवा र तुवाँलोले गर्दा रनवेको एउटा छेउबाट अर्को छेउ पनि नदेखिएको विमानस्थलले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण गराउन अत्याधुनिक प्रविधि जडान गरिएको छ।

प्रविधिमा आधारित उडान एवं अवतरण गर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रूल’ प्रयोगमा रहेपनि ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्ने रेग्मीले बताइन्।