जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दीपक मनाङेको ठाउँमा जितप्रकाश आलेको नाम

जन्मभुमि खबर ,
पोखरा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने निधोमा पुगेका छन् । उनले समाजवादीका एक्ला सांसद राजीव गुरूङ (दीपक मनाङे)लाई मन्त्री नबनाउने भएका हुन् ।

कांग्रेसका एक सांसदले मनाङेलाई मन्त्री नबनाइने बताए । उनको ठाउँमा तनहुँका जितप्रकाश आले मन्त्री बन्ने ती सांसदले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलको जोडबलमा आले मन्त्री बन्न लागेका हुन् ।

आज आलेसहित कांग्रेसका महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा, माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले शपथ लिने भएका छन् । उनीहरूकाे शपथ आजै ४ बजेपछि हुने जनाइएकाे छ ।

केन्द्रबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दबाब दिइरहे पनि मुख्यमन्त्रीले त्यसलाई बेवास्ता गरेका छन् । विवादित छवीका व्यक्तिलाई सरकारमा लैजानुभन्दा आफ्नै पार्टीका एक जना सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री पाण्डेले चाहिरहेका थिए ।

यसअघि मुख्यमन्त्री पाण्डेसहित कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा बिना विभागीय मन्त्रीको शपथ लिइसकेका छन् । मुख्यमन्त्री बनेको दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।