जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेंसीशहर सडक पुनः अवरुद्ध भएको छ। बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ।

रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरो खसिरहेको छ। गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो।

सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडक समेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरूपमा सडक सञ्चालन हुँदै आएको छ।

बेंसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेसीशहर आउने यात्रुलाई समस्या हुँदै आएको छ। त्यस्तै, उक्त सडक हुँदै मनाङबासीसमेत आवतजावत गर्ने गर्छन्।