जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई खोयाले हानेका युवक १० दिनपछि रिहा

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई मंगलबार आर्थिक कारबाही नगरी साधारण तारेखमा छोडेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

रानाभाटले गत ७ पुसमा पोखरा अमरसिंह चौरमा आयोजित स्वतन्त्र पार्टीको सभामा लामिछानेलाई मकैको खोया हानेका थिए ।

रविलाई मकैको खोयाले हानेको आरोपमा पक्राउ परेका रानभाटलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको थियो ।

उनले खोया हानेर भाग्ने क्रममा प्रहरीले सोधपुछ गर्न खोज्दा अपशब्द बोलेर गालीगलौज गरेको र हातपातको प्रयास गरेकाले ड्युटीमा खटिएका प्रहरीको प्रतिवेदनका आधारमा अभद्र व्यहार गरेको कसुरमा म्याद थपिएको थियो ।