जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने उनकी छोरी घाइते भएकी छन्।
मंगलबार बिहान करिब ११ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर पृथ्वी राजमार्गस्थित सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ की २२ वर्षीया सूचना शर्मा र पछाडि सवार उनका ६१ वर्षीय बुबा माधवप्रसाद शर्मा गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएकोमा उपचारका क्रममा माधवप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरी सूचनाको उपचार भइरहेको छ ।