जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरा महानगरपालिका–१६ घार्मीखोला स्थित कुरमा रहेको अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण संकलन तथा पुनर्स्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।
आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गरेका छन् ।
महानगर प्रमुख आचार्यले बालआश्रमको पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकाबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।