जन्मभुमि खबर ,
पोखरा ।
डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन् ।
जिल्ला सदरमुकाम दुनैस्थित कारागारबाट फरार भएका उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेर भागेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम देखिएपछि घटना सार्वजनिक भएको हो ।
फरार हुनेमा रुकुम पश्चिमका राम विक, डोल्पाका कालिप्रसाद रोकाय, सल्यानका रेशम राना, जाजरकोटका यज्ञ विक, डोल्पाका धन बुढा भन्ने हरिबहादुर बुढा, जाजरकोटका कैलाश भन्ने कपिल परियार तथा रुकुम पश्चिमका तिलक भण्डारी र आदेश भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीले कारागारको सीसीटीभी फुटेजसहित घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । फरार कैदीबन्दीको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।