जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीको प्रक्रिया अघि बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा उडान रद्द हुने समस्या कम गर्न हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली लागु गर्ने प्रक्रिया अघि बढाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स-अथोराइजेसन रिक्वायर्ड) प्रणाली लागु गर्न आवश्यक प्रारम्भिक अध्ययन सकेको छ ।

यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेलले जानकारी दिएका छन् । उनले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्सन तथा रद्द हुने उडान घटाउन सहयोग पुग्ने बताएका छन् ।

उनले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताए ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो संकेतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ । तर, विमानस्थलको भौगोलिक अवस्थिति, आसपासको पहाडी भू–बनोट तथा सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यताका बेला उडान सञ्चालनमा समस्या आउने गरेको छ ।

यसलाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित मार्गनिर्देशन प्रणाली विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ ।

सोही क्रममा आरएनपी–एआर प्रणाली लागु गर्ने तयारी अघि बढाइएको हो । पोखराबाट अहिले फ्लाइ दुबईले दैनिक अन्तराष्ट्रिय उडान गर्दै आएको छ । यो प्रणाली जडान नहुँदा फ्लाई दुबईले पोखरामा ल्याण्ड गर्न नसकेर एक पटक लखनउ डाइभट गर्नुपर्‍यो भने एक दिन फ्लाइट क्यान्सिल गर्नु पर्‍यो ।

यो प्रणाली सञ्चालनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्यांकन तथा नियामकीय स्वीकृतिका चरण पूरा गर्नुपर्नेछ । यी प्रक्रिया सम्पन्न भएपछि कम दृश्यता भएका अवस्थामा पनि उडान तथा अवतरण थप सहज हुने छ ।

प्राधिकरणका अनुसार प्रणाली कार्यान्वयनपछि प्रतिकूल मौसमका कारण विमान अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण प्रक्रिया पुनः प्रयास गर्नुपर्ने तथा उडान नै रद्द गर्नुपर्ने अवस्थाहरू घट्ने अपेक्षा गरिएको छ ।