जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेत्रावतीमा एउटै घरको ३ तलामाथि भेटियो २३ जनाको शव

जन्मभुमि खबर ,

पोखरा ।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरभित्र २३ जनाको शव भेटिएको छ ।

मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

गएको बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पुरेको तीनतले घरको माथिल्लो कोठामा शव फेला परेको हो ।

बाढी आएपछि तीन तलामाथि बसेर जोगिने प्रयास गरेकाहरू बाढीको चपेटामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । भेटिएका शवहरूको पहिचान भएको छैन ।

भेटिएका शव त्रिर्थयात्रीहरूका हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

‘एउटै कोठामा २१ जना र बाहिरपट्टी २ जनाको शव भेटिएको हो। एउटा शव विदेशी नागरिकको जस्तो देखिन्छ,’ ती प्रहरीले भने, ‘शवसँगै झोला पनि भेटिएको छ। सायद उनीहरू गोसाइकुण्ड हिँडेका यात्री पनि हुन सक्छन् ।’

उनले बाढी बढ्दै गएपछि उनीहरू जोगिन घरको माथिल्लो तलामा चढे पनि नजोगिएको हुनसक्ने बताए ।

‘तीनतले घरको छतभन्दा मुनीको कोठामा शव भेटिएको हो । एकजना महिलाले सानो बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘उनीहरू आमाछोरी हुन सक्छन्। भागेर एकैठाउँमा जमघट भएको बेला सबैलाई बाढीले पुरेको जस्तो घटनाको प्रकृति देखिन्छ ।’

घरबाट निकालिएका २३ शवमध्ये आठवटा सोमबार साँझ त्रिशूली अस्पतालमा लगिएको छ। बाँकी सबै शव अहिले पनि घरकै छतमा रहेको उनले बताए । ‘ती शव आज ल्याउने तयारी छ,’ उनले भने ।