जन्मभुमि खबर ,
पोखरा ।
बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालिएको थियो ।
अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई प्रहरीले बिहीबार भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
उनीहरूलाई मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।