जन्मभुमि खबर ,
पोखरा ।
पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए । एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
उनका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
सडक तथा हवाई पहुँच सहज बन्दै जाँदा भारतीय पर्यटकको पोखरा आगमनमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय दैनिक जसो भारतीय युवाको समूह बञ्जीजम्प गर्न आउने गरेको पाइएको छ ।
विदेशमा रोजगारी तथा उच्च शिक्षाका लागि गएका नेपाली युवा छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव गर्ने चाहना राख्ने क्रम पनि बढेको छ । उनीहरूका लागि बञ्जीजम्प छुट्टीको विशेष आकर्षण बन्न थालेको अध्यक्ष खरेलको भनाइ छ ।
उनले भने, ‘छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढी व्यक्तिलाई बञ्जीजम्प गराइसकेको छ । कम्पनीले प्रत्येक व्यक्तिबाट रु सात हजार ५०० शुल्क लिने गरेको छ । जसमा फोटो, भिडियो र टिसर्ट उपहारको समेत व्यवस्था गरेको छ ।’
एक सय एक मिटरको गहिराइमा हामफाल्ने उक्त बञ्जीजम्पको सबैभन्दा ठूलो विशेषता भनेको प्राकृतिक दृश्य हो । उनले भने, ‘हामफाल्ने क्रममा एकातिर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य देखिन्छ भने अर्कातर्फ तल बगेको सेती खोंच र वरपरको हरियालीले साहसिक अनुभवलाई अझ रोमाञ्चक बनाइदिन्छ ।’ यही दृश्यावलोकनका कारण धेरै पर्यटकले पोखराको बञ्जीलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा लिने गरेका छन् ।
बञ्जी नेपालका संस्थापक अध्यक्ष सन्तोष भट्टराईसहित ११ जना पोखराका युवा उद्यमीले उक्त संस्थामा संयुक्त रूपमा रु आठ करोड २५ लाख लगानी गरेका हुन् ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाएको ३५ मिटर अग्लो टावरको फेदबाट बञ्जीजम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले वञ्जीजम्पमा थप आकर्षण बढ्ने विश्वास गरिएको छ ।
बञ्जी सञ्चालनमा आएसँगै अप्रत्यक्ष रूपमा स्थानीयलाई रोजागरी, पर्यटन व्यवसाय र आसपासका होटल, रेष्टुरेन्ट तथा यातायात क्षेत्रमा समेत आर्थिक गतिविधि बढाएको छ ।
कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको कम्पनीका कार्यकारी निर्देशक मीना बरालले जानकारी दिइन् । प्रत्येक वर्ष कम्पनीले नेपाल सरकारलाई दुईदेखि साढे दुई लाखसम्म राजस्व बुझाउँदै आएको छ ।
पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, हटएयर बेलुनजस्ता साहसिक गतिविधिसँगै बञ्जीजम्प पनि महत्त्वपूर्ण पर्यटन उत्पादनका रूपमा स्थापित हुँदै गएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए ।
विदेशी मुद्रा आर्जन, युवालाई रोजगारी तथा पोखराको पर्यटन प्रवद्र्धनमा यस्ता साहसिक खेलले उल्लेखनीय योगदान पुर्याइरहेका छन् ।
उनका अनुसार पर्यटन व्यवसायीहरूका अनुसार साहसिक पर्यटनका यस्ता गन्तव्यलाई स्थानीय समुदाय, निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यबाट अझ व्यवस्थित रूपमा प्रवर्धन गर्न सके पोखराले अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा थप उचाइ हासिल गर्न सक्नेछ ।
पोखराको मुख्य पर्यटकीयस्थलबाट करिब तीन किलोमिटर दूरीमा रहेको बञ्जी कतिपय आन्तरिक पर्यटकको यही प्रयोजनका लागि पोखरा बसाइ लम्बिन सक्छ ।
तर एकैदिनमा बञ्जीजम्प गरेर फर्कन पनि सकिने छ । प्रमुख लामिछानेका अनुसार गण्डकी प्रदेशमा कुश्मासहित पोखरा रातोपैह्रा र हेमजामा पनि बञ्जी सञ्चालन गरिएको छ ।