जन्मभुमि खबर ,
पोखरा ।
क्षेत्री समाज नेपाल, पोखरा नगर समितिको २८ औँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले वीर बहादुर अधिकारीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा प्रेम बहादुर जी.सी. र कोषाध्यक्षमा सुजन थापा चयन भएका छन्। यसैगरी समितिको सदस्यहरूमा गीता के.सी., कल्याणी रायमाझी, प्रेम बहादुर भण्डारी, मैया के.सी., सम्पन्न खड्का, ज्योती थापा, कमला खत्री र तिर्थ कुमारी क्षेत्री निर्वाचित भएका छन्।
क्षेत्री महिला समिति पनि गठन

अधिवेशनकै अवसरमा कुमारी थापाको अध्यक्षतामा ‘क्षेत्री महिला समिति’ समेत गठन गरिएको छ। जसको उपाध्यक्षमा राधिका थापा, सचिवमा कुलमाया क्षेत्री र कोषाध्यक्षमा विमला अधिकारी चयन भएका छन् भने कार्यसमिति ९ सदस्य रहने गरी विस्तार गरिएको छ।
समाजको एकता र राष्ट्रहितमा जोड
साधारण सभाको उद्घाटन समारोहका प्रमुख अतिथि, गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सांसद विन्दु कुमार थापाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। सो अवसरमा बोल्दै प्रमुख अतिथि थापाले समाजमा क्षेत्री जातिको एकता अपरिहार्य रहेको औंल्याउँदै यसले राष्ट्रहित र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यक्रममा क्षेत्री समाज नेपाल का केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजको उद्देश्य र भावी कार्यदिशामाथि प्रकाश पारेका थिए। उनले समाजले तल्लो तहदेखि केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो संगठन विस्तार गरी क्षेत्री जातिलाई समेटेर रचनात्मक क्रियाकलापहरू अगाडि बढाउँदै आएको जानकारी दिए।
क्षेत्री समाजका संस्थापक सल्लाहकार शोभियत बहादुर अधिकारीले क्षेत्रीको पहिचान, राष्ट्र र राष्ट्रियताको हितमा समाज सधैं सबल र एकजुट हुनुपर्ने धारणा राखे। क्षेत्री महिला समाजकी अध्यक्ष उर्मिला खड्का,महिला नेतृ मिलन थापा र सल्लाहकार प्रेम बहादुर जी.सी.ले समाजको पहिचानलाई अझ मजबुत र कायम गराउन हरेक तह र तप्काका नागरिकहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
८० वर्ष नाघेका १४ ज्येष्ठ नागरिक सम्मानित
कार्यक्रममा समाजको विकास र उत्थानमा योगदान पुर्याउने एवं ८० वर्ष उमेर पूरा गरेका १४ जना ज्येष्ठ नागरिकहरूलाई समाजका तर्फबाट दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो।
उक्त अवसरमा क्षेत्री समाज जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी, पोखरा महानगर अध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष रेनु थापा, निर्वाचन संयोजक गणेश बहादुर अधिकारी र सदस्य मदन के.सी. लगायतले समाजको गतिविधि र भावी योजनामाथि आफ्ना भनाइहरू राखेका थिए।
पाेखरा वडा नम्बर ८ समितिका अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष निरज थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव पवित्रा के.सी.ले प्रगति प्रतिवेदन र कोषाध्यक्षकृष्ण कुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।