जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शनिबार ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता हुने

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका-५ मालेपाटनमा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम २०८३’ आयोजना हुने भएको छ ।

‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ भन्ने मूल नारासहित आगामी जेठ ९ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ५ को प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति, पोखरा-५ को आयोजनामा हुन लागेको हो ।

प्रतियोगिता संयोजक डा सरोज कोइरालाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र सक्रिय जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको छ ।

प्रतियोगितामा हिँडेर खेलिने फुटबललाई प्राथमिकता दिइनेछ भने दौडन, एकअर्कालाई ठक्कर दिन, धक्का दिन वा ट्याकल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रतियोगितामा ठूलो मैदान र धेरै खेलाडी सहभागी गराइने जनाइएको छ। आयोजकले स्वास्थ्य, मित्रता, सम्मान र आनन्दलाई प्रतियोगिताको मुख्य प्राथमिकतामा राखिएको डा. कोइरालाले बताए ।

प्रतियोगिताले ज्येष्ठ नागरिकहरूको मन र शरीर स्वस्थ राख्न मद्दत पुग्ने, पुराना साथीभाइसँग पुनर्मिलन हुने तथा सामाजिक सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास लिइएको छ ।

साथै ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा खेलकुदमा सक्रिय रहन उत्प्रेरणा मिल्ने प्रचारप्रसार संयोजक वसन्त गौतमले जानकारी दिए।

खेल जेठ ९ गते बिहान ७ बजेदेखि बाराही माध्यमिक विद्यालयको खेल मैदान मालेपाटनमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७० वर्ष पूरा गरेका वा २०१३ साल र सोभन्दा अगाडि जन्मिएका पोखरा-५ मा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितामा प्रथम, द्वितीय तथा विभिन्न विधामा पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि हालसम्म ७० जनाको नाम दर्ता भएको अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवं प्रतियोगिताका सल्लाहकार हरिप्रसाद पराजुलीले जानकारी दिए ।