जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा फिर्केको खोलाघरभित्रका संरचना हटाउन ९ गतेसम्मको अल्टिमेटम

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्रका सबै संरचना हटाउन जेठ ९ गतेसम्मको अल्टिमेटम दिएको छ । बुधबार थप सूचना जारी गर्दै यसअघिको ३५ दिने सूचनाको अवधिभित्रै फिर्केको खोलाघर खाली गर्न उर्दी जारी गरिएको हो ।

वैशाख ४ गते अर्को सूचना निकालेर महानगरले ३५ दिनभित्र खोलाघरभित्र निर्माण भएका संरचना हटाउन भनेको थियो । अहिले पनि सोही प्रकृतिको सूचना निकालिएको हो ।

‘उल्लेखित मितिभित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।