जन्मभुमि खबर ,
पोखरा ।
पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ । यात्राका क्रममा विमानस्थलमा ट्याक्सी चालकले गरेको दुर्व्यवहारको भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।
त्यसकै आधारमा विमानस्थल प्रशासनलाई उजुरी समेत परेपछि नागरिक उड्ययन कार्यालय पोखराले ती ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार पुस ८ गतेदेखि लागू हुने गरी १ महिनासम्म उनीहरुले पोखरा विमानस्थलमा ट्याक्सी सेवा सञ्चालन गर्न पाउने छैनन् ।
अमर्यादित व्यवहार गर्ने सम्बन्धित पाँच जना ट्याक्सी चालक तथा निजका ट्याक्सीहरूलाई एक महिनासम्म यस विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको छ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘सम्पूर्ण चालकहरूले अब आइन्दा यात्रुसँग नम्र, सभ्य, शालीन एवं मर्यादित व्यवहार गर्ने र सोबमोजिमको व्यवहार नभएको पाइएमा कानुन अनुसार कारबाही हुनेछ ।’
इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित सेवा प्रदान गर्ने सवारीलाई कुनै अवरोध नगर्न पनि विमानस्थलले चेतावनी दिएको छ ।
योसँगै अबदेखि इन्ड्राइभर र पठाओ जस्ता एपमा आधारित सवारी साधनले विमानस्थलमा निर्धक्क सेवा दिन पाउने निरौलाले बताए ।