जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्युठान घर भई पोखरा ३ नदिपुर बस्ने २४ वर्षका सुमित थापा र धादिङ घर भई सोही ठाउँ बस्ने २७ वर्षका सुजन परियार छन् । दुवै जनालाई पोखरा–९ रामघाटबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुले पोखराका विभिन्न ठाउँमा ४ वटा ठुला चोरीका घटनामा संलग्न भएको खुलेको छ । पोखरा–१३ स्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउन्टर फोडेर ४१ हजार रुपैयाँ र कागजात चोरेको पुष्टि भएको छ ।
यस्तै, पोखरा–४ आदर्श मार्गबाट ग १५ प १०२० नम्बरको होन्डा डिओ स्कुटर चोरेको पनि अनुसन्धानबाट खुलेको छ । उनीहरुले पोखरा–१७ ड्यामसाइड स्थित आरुस स्टोर्सबाट २ लाख ७३ हजार ५ सय रुपैयाँ नगद र पोखरा–८ न्युरोडमा पार्किङ गरेको गाडीबाट ३५ हजार रुपैयाँ र विभिन्न कागजात भएको झोला चोरेको स्वीकार गरेका छन् ।
पक्राउ परेकामध्ये सुमित निरन्तर अपराधमा संलग्न छन् । यसअघि अभद्र व्यवहार, चोरी उद्योग र चोरी लगायतका कसुरमा ८ पटकसम्म पक्राउ परिसकेका उनी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
सुजन पनि यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । कास्की प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेका अनुसार दुवै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ ।