जन्मभुमि खबर ,
पोखरा ।
पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डै अर्ब रुपैयाँ हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरु हाजिरी जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले अदालतमा अभियोगपत्र नै नलगी ठगी भएको रकम फिर्ता गर्ने शर्तमा हाजिरी जमानीमा छाडेको हो।
सहकारीको ८८ करोड ७० लाख ९८ हजार रुपैयाँ हिनामिना भएको प्रतिवेदन आधारमा जिल्ला प्रहरी कार्यालयले गत महिना सहकारी अध्यक्षसहित पदाधिकारी र व्यवस्थापक गरी ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । सहकारी अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, सहकारी प्रबन्धक भीष्मप्रताप गुरुङ, सहकारीका पूर्वसचिव तथा सञ्चालक इन्द्रप्रसाद द्वा, सञ्चालक दोर्जे तामाङ र बजार प्रमुख वेदीप्रसाद सुवेदी पक्राउ परेका थिए । उनीहरुविरुद्ध सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेकोमा हिरासतमुक्त भएका हुन् ।
न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीहरु उम्किन नपाउन् भनी उनीहरुको जायजेथा तथा सम्पत्ति रोक्का राखिएको, साथै रकम पनि बिस्तारै तिर्दै पनि जाने प्रतिबद्धता जनाएकाले पीडित बचतकर्ताको मञ्जुरीसहित तत्कालका लागि हिरासतमुक्त गरिएको बताइन् ।