जन्मभुमि खबर ,
पोखरा ।
जबरजस्ती करणी मुद्दामा सोमबार (कात्तिक २४) मात्र सजाय भोगेर कारागारबाट छुटेका ५१ वर्षीय जीतबहादुर विकले राति श्रीमतीको हत्या गरेका छन् । घटना पर्वतको हो ।
श्रीमान्ले कुटपिट गर्दा पर्वतको मोदी गाउँपालिका–६, दराककी ५२ वर्षीया सीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार (कात्तिक २५) बिहान करिब १ बजे ५१ वर्षीय जितबहादुर विकले श्रीमती सीतामाथि कुटपिट गरेका थिए । त्यसपछि उनकी बुहारी शोभा विकले ससुराले सासूमाथि कुटपिट गरी रगताम्य बनाएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
घटनास्थल पुगेको प्रहरीले सीतालाई आफ्नै घरको सुत्ने कोठामा टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेट्टाएको थियो । त्यसपछि उनलाई उपचारका निम्ति प्रदेश अस्पताल पर्वत लगिएको थियो ।
उपचारका क्रममा मंगलबार बिहान साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं डीएसपी विजय यादवले जानकारी दिए ।
जितबहादुरलाई छिमेकीले घरमा नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । घरमा जितबहादुर, सीतासहित एक बुहारी र दुई महिनाकी नातिनी गरी चारजना थिए । तीन छोरा रोजगारीका निम्ति विदेशमा रहेका प्रहरीले जनाएको छ ।