जन्मभुमि खबर ,
पोखरा ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
चितवनबाट लमजुङ सदरमुकाम बेसीशहरतर्फ गइरहेको इभी माइक्रो दुर्घटना हुँदा चितवनकी एक वृद्धाको मृत्यु भएको छ, चालक गम्भीर घाइते छन् ।
मंगलबार दिउँसा १२ः१५ को समयमा आबुखैरेनी गाउँपालिका– २, एक्लेफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।
उनका अनुसार, बागमती प्रदेश ०३–००१ व ०९३७ नम्बरको इलेक्ट्रोनिक (इभी) माइक्रो दुर्घटनामा भएको हो । पानी परेर सडक चिप्लो भएका कारण माइक्रो अनियन्त्रित भएको अनुमान प्रहरीले गरेको छ ।
माइक्रोमा १४ यात्रु सवार थिए । घाइतेलाई तत्कालै उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो ।
उपचारका क्रममा चितवन, भरतपुर महानगरपालिका १८ बस्ने ५५ वर्षीया बुझमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माइक्रो चालक लमजुङ, बेसीशहर– ८ का ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ ।
उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।
घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।
यस्तै लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।