जन्मभुमि खबर ,
पोखरा ।
जनैपूर्णिमाको दिन लमजुङको दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक किशोरको शव ४९ दिनपछि फेला परेको छ।
लमजुङको क्होलासोथार गाउँपालिका-४ भुजुङका १८ वर्षीय मनोज गुरुङको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार सडेगलेको अवस्थामा फेला पारेको हो।
लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार जिल्ला सुरक्षा समिति र क्होलासोथार गाउँपालिकाको निरन्तर समन्वय तथा अग्रसरतामा विशेष खोजी अभियान चलाइएको थियो।
गाउँपालिकाको व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपाल, नं. २४ गण कास्कीबाट ४ जनाको गोताखोर टोली र मृतकका दाइलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत घटनास्थल पठाइएको थियो। सोही टोलीले पोखरीबाट शव निकालेको हो।
गुरुङ गत साउन २४ गते जनैपूर्णिमाको अवसरमा मर्स्याङ्दी गाउँपालिका-३ स्थित दुधपोखरी कुण्डमा नुहाउँदा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले साउन ३१ गतेसम्म खोजतलास गरे पनि फेला पार्न सकेको थिएन।
शव फेला परेपछि आवश्यक व्यवस्थापन गरी गोताखोर टोली बिहीबार हेलिकप्टरमार्फत पोखरा फर्किएको प्रहरीले जनाएको छ।