जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेसबुक,युट्युब, एक्सलगायतका २६ सञ्जाल बन्द गर्ने सरकारको निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका  फेसबुक, ट्वीटर (एक्स),युट्युबलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । यस अवधिमा मन्त्रालयमा पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।

तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो ।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।