जन्मभुमि खबर ,
पोखरा ।
बहुविवाहको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले सामाजिक सञ्जालमार्फत आफ्ना निजी जीवनका विषयमा विस्तृत रूपमा स्पष्टीकरण दिएका छन् ।
रुपन्देही–३ मा उपनिर्वाचनका लागि उम्मेदवार बनेका थापाले आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी भएको दाबी गरेका छन् ।
टिकट पाएपछि नेपालगञ्जबाट पहिलो फ्लाइट लिएर ९६ वर्षीया आमाको आशीर्वाद लिन जान चाहेका थापाले आमालाई खुसीको खबर सुनाउने सोच बनाएका थिए । तर, काठमाडौंमै आफ्ना वैयक्तिक जीवनप्रति उठेका प्रश्नहरूको उत्तर दिनुपर्ने परिस्थिति आएको भन्दै उनले गुनासो पोखेका छन् ।
डा. थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माथि भएको यो आक्रमण लेखजंग थापामाथि हैन, सुसंस्कृत राजनीति गर्ने रास्वपामाथि सुनियोजित आक्रमण हो ।’
उनका अनुसार, जीवनमा परिस्थिजन्य कारणले दुई पटक विवाह भएको, एक जनासँग सम्बन्धविच्छेद समेत भएको र ती सम्बन्धहरूबारे पार्टीलाई पूर्व जानकारी दिएको दाबी गरेका छन् । ‘पार्टी नेतृत्वले कानुनी परामर्शका आधारमा नै उम्मेदवार छनोटमा अगाडि बढेको मेरो बुझाइ छ,’ उनले लेखेका छन् ।
न्यूरोचिकित्सकको रुपमा १४ वर्ष लामो अनुभव बोकेका थापाले सम्बन्ध विच्छेदपछि पनि सन्तानको हितका लागि पूर्वपत्नीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका छन् । ‘सम्बन्ध विच्छेद भएपछिको सहकार्य यदि गल्ती हो भने, मलाई त्यसमा ग्लानी छैन,’ उनी भन्छन् ।
राजनीतिमा आफू नेता बन्न नभइ परिवर्तनको अभियानमा सहयात्री बन्न आएको बताएका थापाले रुपन्देही–३ को उम्मेदवार आफू मात्र नभएको उल्लेख गरेका छन् । ‘रुपन्देही–३ को उम्मेदवार म होइन, पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हुन्,’ उनले लेखेका छन् ।
३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट आफू उम्मेदवार बनेको भन्दै थापाले पार्टीले आगामी दिनमा लिने कुनैपनि निर्णयलाई स्वागत र स्वीकार गर्ने बताएका छन् । ‘रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि तयार छ,’ उनले भनेका छन् ।
रास्वपाले रुपन्देही–३ मा उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको केही दिनमै उनको वैवाहिक जीवनप्रति प्रश्न उठ्दै आएको थियो ।